विषय सुची क्रमश
१ 'दिव्योपदेश’को आधिकारिकता
२ बार्ह्र मगारातमा शाही कटक
१ 'दिव्योपदेश’को आधिकारिकता
रोहेज खतिवडा फुर्सद२६ पुष २०७६ ०९:०६:००
पृथ्वी जयन्ती
‘उप्रान्त,
यो राजे दुई ढुंगाको तरुल जस्तो रहेछ। चीन बादशाहसित ठुलो घाहा राष्नु। दखिनको समुद्रका बादशाहसित घाहा ता राषनु। तर त्यो महाचतुर छ।’
पृथ्वीनारायण शाहले भनेको भनिएको दिव्योपदेशको यो उक्तिले नेपालको परराष्ट्र सम्बन्धलाई अझै पनि कुनै न कुनै रूपमा निर्देशित गरेको छ। एक्काइसौं शताब्दीमा दुवै मुलुकको अर्थतन्त्र शक्तिशाली भएपछि यो भनाइ अझै सान्दर्भिक भएको हुनसक्छ। सान्दर्भिक हुँदाहुँदै पनि यो कुरा पृथ्वीनारायण शाह आफैंले भनेका हुन् कि होइनन्, प्रश्न गर्न सकिने ठाउँ छ।
पृथ्वीनारायण शाहको मृत्यु १८३१ माघमा भएको हो। दिव्योपदेशमा भएका कुरा उनले आफ्नो मृत्युको केही दिनअघि भनेका हुन् भन्ने इतिहासकारहरूको दाबी छ।
उनको जीवनको अन्तिम कालखण्डमा नेपालको सिमाना छवटा राज्यसँग जोडिएको देखिन्छ। ‘दुई ढुंगाबीचको तरुल’को उपमा दुईवटा ठूला र शक्तिशाली देशको बीचमा चेप्टिएको सानो र कमजोर मुलुकका लागि नै उपयुक्त हुन्छ। तत्कालीन मानचित्रले न नेपालको आकार तरुलजस्तो देखाउँछ, न सिमानाले दुई ढुंगाबीच देखाउँछ। यस्तो बेला पृथ्वीनारायण शाहले कसरी नेपाललाई दुई ढुंगाबीचको तरुल भने त ?
पृथ्वीनारायण शाहले दिव्योपदेशमा यही एक ठाउँमात्र चीनको नाम लिएका छन्। अर्को एक ठाउँमा भने उनले भोट (तिब्बत)को नाम लिएका छन्। ‘भोटको घाहा कालु पांडेका सन्तानलाई नछुटाउनु’ भन्ने उनको अर्ति छ।
तिब्बतसँग नेपाल (तत्कालीन नेपाल मण्डल)को खास व्यापारिक सम्बन्ध थियो। नेपाल उपत्यकाको सम्पन्नता र वैभवको महत्वपूर्ण स्रोत तिब्बतसँगको व्यापार थियो। तिब्बतमा नेपालीहरू व्यापार गर्न जाने र उतै बस्ने प्रचलन पनि थियो। तिब्बतका लागि आवश्यक मुद्रा काठमाडौंले नै पठाउने गथ्र्याे। पृथ्वीनारायण शाहले नेपाल उपत्यका जित्नुअघि काठमाडौंका राजा जयप्रकाश मल्लसँग तिब्बतको विवाद भएको थियो। शुद्ध चाँदीका सिक्का पठाउनुपर्ने भए पनि मल्लले मिसावटयुक्त सिक्का पठाएको भन्दै तिब्बतले असन्तुष्टि जनाइरहेको थियो। यही समयमा नै शाहले उपत्यकामाथि आक्रमण गरेका थिए। उपत्यका जितेपछि तिब्बतसँग सन्धि गरी उनले यो विवाद टारेका थिए। (बाबुराम आचार्य, नेपालको संक्षिप्त वृत्तान्त, पृ.१९५-१९६।)
पृथ्वीनारायण शाहको राज्यकालमा तिब्बतमाथि चीनको खास नियन्त्रण थिएन। यो समय तिब्बतले आफ्नो सार्वभौमिकता अधिकतम प्रयोग गरिरहेको थियो। इतिहासकार आचार्यकै ‘चीन, नेपाल र तिब्बत’ नामक पुस्तकमा उनले यो विषय स्पष्ट पारेका छन्। ‘दुई जना चिनियाँ अम्बानहरू तिब्बती पदाधिकारीलाई परामर्श दिन भनी तिब्बतमा स्थायी रूपमा रहिरहेका थिए। तिब्बतभित्रको आन्तरिक प्रशासनमा भने यतिन्जेलसम्म खास नियन्त्रण कायम हुन सकिरहेको देखिँदैन। यसैले नै इ.सं. १९७५ मा तिब्बत सरकार र नेपाल सरकारबीचमा वाणिज्य सन्धि सम्पन्न हुँदा यिनीहरू तटस्थ नै भएर रहेका थिए।’ (आचार्य, चीन, तिब्बत र नेपाल, पृ.१८७)
पृथ्वीनारायण शाहको मृत्यु भएको लामो समय नबित्दै नेपाल-तिब्बतबीच युद्ध सुरु भयो। युद्धमा तिब्बत हारनजिक पुगेपछि चीनसँग गुहार माग्यो। चीनले तिब्बतलाई सहयोग गर्न आफ्ना सैनिक पठायो। तिब्बतमाथि आफ्नो नियन्त्रण बढाउने उद्देश्यले नै चीनले तिब्बतमा सैनिक पठाएको आचार्यको निष्कर्ष छ। ‘चीन सरकार यति बेला तिब्बती भूभागमा आफ्नो पकड अझ दरिलो पार्न दाउ हेरेर बसिरहेको थियो। यसैले तिब्बतबाट पठाइएको प्रार्थनापत्र पुग्नेबित्तिकै सम्राट् छियाङ-लुङले आफ्नो एउटा विशाल सैन्य दलका साथमा आफ्ना ज्वाइँ फू तुङथ्वाङलाई मुख्य सेनापतिका रूपमा नियुक्त गरेर तिब्बतर्फ पठाइ पनि हाले।’ (आचार्य, चीन, तिब्बत र नेपाल, पृ.२०८)
पृथ्वीनारायण शाहको राज्यकालमा भने नेपाल र चीनको कुनै व्यवहार भएको छैन, न त नेपाललाई चीनबाट कुनै खतरा महसुस भएको संकेत पाइन्छ। इतिहासकार आचार्यकै अनुसार नेपाललाई नियन्त्रण गर्न चीनको न कुनै रुचि थियो, न दूरीका हिसाबले सहज नै। हजारौं किलोमिटर टाढाको बेइजिङलाई हिमालय दक्षिण आउन कुनै रुचि थिएन। पृथ्वीनारायणको मृत्युभन्दा केहीपछि भएको नेपाल-चीन युद्धको परिणामस्वरूप भएको सन्धिबारे समीक्षा गर्दै आचार्य लेख्छन्, ‘हजारौं किलोमिटर दूरीमा रहेको यतिबेलाको चीनले परेको बेला न नेपाल अधिराज्यलाई संरक्षण गर्न सक्थ्यो, न त संरक्षकको भूमिका निर्वाह गर्ने नै उसको आन्तरिक चाहना थियो। यो कुरा चीन र नेपाल दुवै पक्षले राम्रोसँग जानेका तथा बुझेका थिए।’ (आचार्य, चीन तिब्बत र नेपाल, पृ.१४२)
दिव्योपदेशको पहिलो पाण्डुलिपि कसले र कहिले तयार गर्यो ? पृथ्वीनारायण शाहले भनेका कुरा कति छन् ? थपघट गरिएको कति छ ?
आपसमा युद्ध भइसकेपछि त यस्तो स्थिति थियो भने त्यसभन्दा दुई दशकअघि पृथ्वीनारायण शाहले कसरी एकाएक चीनलाई सम्झन पुगे ? जब कि उनले आफ्नो राज्यकालभरि चीनसँग खास प्रकृत्तिको व्यवहार गर्नु परेन। तर, तिब्बतसँग भने तीतामीठा व्यवहार गर्नु परिरह्यो। त्यसैले, एउटा प्रश्न सिर्जना हुन्छ, उनले किन तिब्बतको नाम नलिएर चीनसँग सन्धि गर्न अर्ति दिए ? त्यो समयका लागि सान्दर्भिक त तिब्बतसँग बिग्रिएका सम्बन्ध सुधार गर्नु वा सिक्का विवाद सन्धिमार्फत मिलाउनु भन्ने हुन सक्थ्यो, जुन उनी आफैंले केही समयका लागि टारेका थिए।
पृथ्वीनारायण शाहको छिमेक नीतिको दोस्रो सन्दर्भ भारतसँगको सम्बन्धबारे चर्चा आवश्यक छ। दिव्योपदेशमा उल्लेख छ, ‘दषिन समुद्रको बादशाह सित पनि घाहा त राख्नु। तर त्यो महाचतुर छ। हिन्दुस्थाना दबाईराख्या छ। सरजिमी मा परिरहेछ हिन्दुस्थाना जाग्यो भने कठीन पर्ने छ भनी किल्ला खोज्न आउन्या छ।’ (बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य-उपदेश, सम्पादन, आचार्य र नाथ, पृ.४५)
शाहको समयमा भारतको पूर्वतिर अंग्रेजको शासन जमिसकेको थियो भने पश्चिमतिर मुगल शासक थिए। कतिपय स्थानमा स्थानीय रजौटाहरूको राज चलिरहेकै थियो। शाहको जीवनको अन्तिम समयमा अंग्रेजहरू बंगालबाट अघि बढेर बिहारसम्म आइपुगेका थिए। अवध र मराठाहरूसँग लडाइँ चलिरहेकै थियो।
पृथ्वीनारायण शाहले यसअघि नै अंग्रेजसँग लडाइँ लडिसकेको हुनाले उनले दक्षिणका मुलुकसँगको सम्बन्धबारे कुरा गर्दा अंग्रेजलाई उल्लेख गर्नु स्वाभाविक छ। अंग्रेज बढ्दो शक्ति अवश्य थियो। तर, यतिबेला भारत एउटा राष्ट्रको रूपमा विकास भइसकेको थिएन। अंग्रेज, मुगल वा आफ्नै राजतन्त्र जसको शासनमा रहे पनि ससाना राज्यहरू आफ्नै पहिचानमा बाँचेका थिए। अझ रोचक कुरा त यस बेला भारतीय महाद्वीपको सबैभन्दा ठूलो भूभागमा मराठाहरूको शासन थियो। यति बेलासम्म भारत वा इन्डिया भन्ने राज्यको अवधारणा नै स्थापित भएको थिएन। यो सबै क्षेत्रलाई इन्डिया भनेर पछि अंग्रेजहरूले नामकरण गरिदिएका हुन्। भारत भन्ने नाम त अझ पछिको हो।
यस्तो अवस्थामा नेपाललाई दुई ढुंगाबीचको तरुल भन्न यी अलग अलग राज्यलाई एउटा सिंगो शक्तिशाली राज्य मान्न पर्छ। पृथ्वीनारायण शाहले उपदेश दिएको भनिएको समयमा यो सम्भव देखिँदैन। गोरखा राज्यको सिमाना पूर्व र पश्चिममा पनि अहिलेजस्तो एउटा देशसँग मात्रै थिएन। पूर्वमा इलाम विजय गरिसकेपछि नेपालको सिमाना सिक्किमसँग जोडिएको थियो। इलामबाहेक तराईका केही भूभाग पनि उनले सिक्किमबाट जितेका थिए, यसले ब्रिटिस नियन्त्रित बंगालसँग नेपाललाई जोड्थ्यो। पश्चिममा बाइसीचौबीसी राज्यहरूको अस्तित्व कायमै थियो। तत्कालीन गोरखा राज्यको सिमाना लमजुङ र तनहुँसँग जोडिएको थियो। दक्षिणमा चितवनको समथर भूमि तनहुँकै नियन्त्रणमा थियो।
त्यसैले, पृथ्वीनारायण शाहको राज्यकालको अन्तिम कालखण्डमा नेपालको सिमाना छवटा राज्यसँग जोडिएको देखिन्छ। पूर्वमा सिक्किम, दक्षिणमा बंगाल र बिहार, उत्तरमा तिब्बतसँग नेपालको सिमाना थियो। पश्चिममा तनहुँ र लमजुङसँग जोडिएको थियो। छवटा राज्यसँग सीमा जोडिएको नेपाललाई शाहले कसरी दुई ढुंगाको तरुल भने त ? यसबाहेक अवधको स्पष्ट सिमाना त नेपालसँग जोडिएको थिएन तर दूरी त्यति धेरै थिएन। त्यसैले, शक्तिशाली राज्य अवध पनि नेपालको एक छिमेकी थियो।
कसले लेख्यो दिव्योपदेश ?
दिव्योपदेशको पाण्डुलिपि इतिहासकारहरू नयराज पन्त र बाबुराम आचार्यले आफैं नै भेटेको दाबी गरेका छन्। वि.सं. २०२५ मा प्रकाशित पृथ्वीनारायण शाहको उपदेशमा पन्तले यो भन्दा ३०-३२ वर्षअगाडि सरदार केहरसिंह बस्नेतका सन्तान बखतमानसिंह बस्न्यातबाट प्राप्त गरेको उल्लेख गरेका छन्। (नयराज पन्त र अन्यद्वारा सम्पादित श्री ५ पृथ्वीनारायण शाहको उपदेश) त्यसैले उनले यो पाण्डुलिपि वि.सं. १९९३-१९९५ आसपास प्राप्त गरेको बुझिन्छ। बाबुराम आचार्यले पनि उनै बखतमानसिंहबाट प्राप्त गरेको ‘बडामहाराजाधिराज श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको दिव्यउपदेश’को दोस्रो संस्करणको भूमिकामा उल्लेख गरेका छन्। दुवै इतिहासकारले बस्नेतको घरमा रहेको पाण्डुलिपि नै नलिएर सारेर प्रतिलिपि मात्र लिएको उल्लेख गरेका छन्।
दिव्योपदेशको पाण्डुलिपि पृथ्वीनारायण शाहले प्रवचन गरेकै बेला तयार गरिएको होइन। नयराज पन्तको दाबीअनुसार दिव्योपदेश रणबहादुर शाह राजा भएको समयमा लेखिएको हो। आचार्य र नाथले सम्पादन गरेको ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य-उपदेश’को ‘पूर्व पीठिका’मा यो पाण्डुलिपि वि.सं. १८६० को आसपास तयार गरेको अनुमान गरिएको छ। उनीहरूले लेखेका छन्, ‘यस उपदेशको जुन प्रतिबाट अहिले यो पुस्तिका सम्पादन गरिन लागिएको छ, त्यो प्रति १८६० को आसपासतिर मात्र लिपिबद्ध भएको देखिन आएको छ।’ (बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य-उपदेश, सम्पादन, आचार्य र नाथ, पृ.ख)
बखतमान सिंहबाट आफूले प्राप्त गरेको यो प्रति नै पहिलो पाण्डुलिपि नहुनसक्ने उनीहरूको अनुमान छ। उक्त पिठिकाको सुरुमा नै सम्पादकद्वयले लेखेका छन्, ‘पछिल्लो पटक नुवाकोटमा गएका बेला आफ्नो अन्तिम समयमा राजा पृथ्वीनारायण शाहले आफ्ना भाइ तथा भारदारहरूलाई जुन किसिमका अर्ति एवं उपदेश दिएर गएका थिए, ती अर्ति तथा उपदेशहरू निकै नै मार्मिक भएकाले यिनका भाइ तथा भारदारहरूले ती अर्ति तथा उपदेशहरूलाई त्यति बेला नै टिपोट गरेर राखिराख्नु र पछि पनि यी उपदेशहरूलाई एकअर्काले श्रद्धापूर्वक सार्दै आउनु पनि स्वाभाविक नै हुन आएको थियो। यसै क्रममा ‘बख्शी’ अभिमानसिंह बस्नेतले पनि यस उपदेशलाई सारेर राखेका रहेछन्।’ (बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य-उपदेश, सम्पादन, आचार्य र नाथ, पृ.क)
त्यसैले नै हुनपर्छ, कमलप्रकाश मल्लले दिव्योपदेशलाई ‘अ लेट म्यानुस्कृप्ट’ अर्थात् पछि लेखिएको पाण्डुलिपि भनेका हुन्। मेरी स्लसरको पुस्तक ‘नेपाल मण्डल’को समीक्षा गर्ने क्रममा उनले लेखेका छन्, ‘यो (दिव्योपदेश) जम्मा १० पानाको ‘लेट म्यानुस्क्रिप्ट’ हो।’ (द लिमिट्स अफ सर्फेस आर्कियोलोजी, कन्ट्रिव्युसन्स टु नेपाल स्टडिज, भोल्युम ११, नम्बर १, १९८३)
दिव्योपदेशको पाण्डुलिपि पृथ्वीनारायण शाहको मृत्युको निकैपछि तयार भएको स्पष्ट छ। त्यसैले त्यहाँ सबै उनले भनेका कुरा दुरुस्तै उतारिएका छन् भन्ने कुनै ग्यारेन्टी छैन। बरु आफ्नो समयको चेतना र बुझाइअनुसार केही थपघट गरिएको हुनसक्छ। कति मात्रामा थपघट भएको छ भन्ने कुरा यसको भाषाशास्त्रीय परीक्षणबाट केही हदसम्म पुष्टि पनि गर्न सकिन्छ। तर, आजसम्म यस्तो प्रयास भएको पाइँदैन।
नेपाली भाषाका अन्वेषक बालकृष्ण पोखरेलले ‘पाँच सय वर्ष’ नामक आफ्नो पुस्तकमा भने यस्तो संकेत गरेका छन्। उनले लेखेका छन्, ‘(दिव्योपदेशका) प्रतिलिपिकारहरूले पृथ्वीनारायणको भाषालाई जस्ताको तस्तै सार्ने चेष्टा गरेका छन्, तैपनि विचाराहरू कति ठाउँमा चिप्लिएका छन्। तिनीहरू कुन कुन ठाउँमा चिप्लिएका छन्, त्यो आंैल्याएर देखाउन सकिन्छ...।’ (पोखरेल, पाँच सय वर्ष, पृ.१६१) व्याकरणमा त्रुटि हुनसक्छ भने विवरणमा पनि फरक पर्न सक्ने सम्भावना जीवित रहन्छ। उनले ती त्रुटि औंल्याउने जमर्को भने गरेनन्।
बहादुर शाहको नायबी कालसम्म आइपुग्दा नेपालले बाइसी र चौबिसी राज्यहरू जितेर आफ्नो आकार बढाइसकेको थियो। यसै समय दिव्योपदेशको पाण्डुलिपि पनि तयार गरिएको इतिहासकारहरूको अनुमान छ। यसले दिव्योपदेशको पाण्डुलिपिकारले नै पृथ्वीनारायण शाहको प्रवचनलाई आफ्नो चेतनाअनुसार लेख्ने प्रयास गरेको हुनसक्ने सम्भावनालाई अझ बलियो बनाउँछ। अझ तिब्बत युद्धमा चीनसँग हार खाएपछि र ब्रिटिसहरूसँग युद्धमा नराम्ररी झुक्दै असमान सुगौली सन्धिमा हस्ताक्षर गरेपछि पो नेपालले आफूलाई दुई विशाल ढुंगाबीचको कमजोर तरुलका रूपमा कल्पना गरेको हो कि ? तत्कालीन सन्दर्भहरूलाई हेर्दा पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगाबीचको तरुलका रूपमा कल्पना गर्ने आधार भेटिँदैन। बरु अहिलेसम्म इतिहासकारहरूले गरेको अनुमानलाई आधार बनाउँदा यो वाक्यांश पाण्डुलिपिकालमा अथवा अझपछि थपिएको हुनसक्ने सम्भावना देखिन्छ।
दिव्योपदेशको महिमामण्डन
दिव्योपदेश नेपालमा सबैभन्दा धेरै महिमामण्डन गरिएको रचना हो। इतिहासकार महेशराज पन्तका अनुसार सुरुमा प्राप्त पाण्डुलिपिको कुनै शीर्षक थिएन। बाबुराम आचार्यले सुरुमा यसलाई ‘पृथ्वीनारायण शाहको व्याख्यान’ शीर्षक दिएका थिए। यसलाई दिव्योपदेश भनी नामकरण योगी नरहरिनाथले गरेका हुन्।
विभिन्न स्रोतसामग्री उल्लेख गर्दै एक लेखमा महेशराज पन्तले लेखेका छन्, ‘ बाबुराम आचार्यले यसलाई पृथ्वीनारायण शाहको व्याख्यान भनी काम चलाएका छन्। सूर्यविक्रम ज्ञवालीले पनि बाबुराम आचार्यकै अनुसरण गरी यसलाई पृथ्वीनारायण शाहको व्याख्यान नै भने । बाबुराम आचार्य र सूर्यविक्रम ज्ञवालीले व्याख्यान भनी उपयोग गरेको त्यही पुस्तक वि.सं. २००९ मा प्रकाशित गर्दा नरहरिनाथले ‘दिव्योपदेश’ भनी त्यसको नाम राखे । यसैको अर्को संस्करण वि.सं. २०१० मा प्रकाशित गर्दा बाबुराम आचार्य र नरहरिनाथले यसको नाउँ ‘पृथ्वीनारायण शाहदेवको दिव्य उपदेश’ भनी राखे।’ (के पृथ्वीनारायण शाहको उपदेश नक्कली हो ? , राजधानी दैनिक, २०७० माघ १)
इतिहासकार नयराज पन्तले पनि ‘पृथ्वीनारायण शाहको उपदेश’ नै नाम दिएका छन्। तर, पञ्चायतकालसम्म आइपुग्दा यसको शीर्षक नै ‘ श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहदेवको दिव्योपदेश’ र कतैकतै ‘ श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको स्वर्णमय दिव्योपदेश’ भनी नाममै महिमामण्डित गरियो।
महत्व बढाउनलाई नै पन्तले १० पृष्ठको उपदेशलाई १३५० पृष्ठको किताब बनाएको आरोप कमलप्रकाश मल्लले लगाएका छन्। यसमा भाषा वंशावलीको ठूलो खण्ड र पृथ्वीनारायण शाहका चिठीपत्रमात्र होइन, दिव्योपदेशको संस्कृत पद्य उल्था पनि गरे। मल्ल लेख्छन्, ‘यो संस्करण पाँच भागको छ, जम्मा १३५० पृष्ठको भएको छ, यसका सम्पादकहरूका आधारमा यो नै समूह (संशोधन मण्डल)को सबैभन्दा महत्वपूर्ण काम (म्यागनम अपुस) हो। पहिलो भाग संस्कृत छन्दशास्त्रमा आफ्नो क्षमता प्रदर्शन गर्दै अनौठो किसिमले नयराज पन्तले गर्नुभएको पृथ्वीनारायण शाहको रसविहीन पद्यव्याख्याबाट सुरु हुन्छ। (द लिमिट्स अफ सर्फेस आर्कियोलोजी, कन्ट्रिब्युसन्स टु नेपाल स्टडिज, भोल्युम ११, नम्बर १, १९८३) यसपछि दिव्योपदेशको पद्य अनुवाद, भाषा वंशावली र चिठीपत्रहरू समावेश गरिएको छ। १०९ पृष्ठको शुद्धिपत्र थपेर आकार ठूलो बनाइएको भन्दै मल्लले यसै लेखमा संशोधन मण्डललाई व्यंग्य गरेका छन्। शासकहरूको विरुदावली लेख्ने परम्परामा हुर्किएका इतिहासकारले कुनै शासकले दिएको भनिएको अर्तिलाई पद्य अनुवाद गर्नु यही परम्पराकै निरन्तरता भएको देखिन्छ।
जे भए पनि दिव्योपदेशलाई जनसमक्ष ल्याउन आचार्य र पन्तको भूमिका महत्वपूर्ण छ। यसको अन्वेषणमा उनीहरूले जेजति योगदान गरे, त्यसयता थप उल्लेखनीय काम भएको छैन। दिव्योपदेशको पहिलो पाण्डुलिपि कसले र कहिले तयार गर्यो ? त्यो उपलब्ध हुनसक्छ कि सक्दैन ? त्यसमा पृथ्वीनारायण शाहले भनेका कुराहरू कति छन्, थपघट गरिएको कति छ ? इतिहासमा कलम चलाउनेहरूले अब यी प्रश्नको जवाफ खोज्नु आवश्यक छ। दिव्योपदेशलाई गीता नबनाऔं, इतिहासकै रूपमा रहन दिऔं
@RohejKhatiwada
२ इतिहास बार्ह मगारातमा शाही कटक
यादव देवकोटा, भाद्र २८ २०७६ कान्तिपुर कोसेली
मानसिंह खड्गामगरबाट द्रव्य शाहको अधीनमा गोर्खाकोट हस्तगत हुने विसं १६१६ भदौ २५ को त्यही घटना कालान्तरमा आजको नेपाल राज्य निमार्णको आरम्भ विन्दुको रूपमा संघटित हुन्छ । यो आलेख चार सय साठी वर्षअघि बाह्र मगरातको अन्तिम मगर राज्यमा शाही धुन्य फहराउन आइपुग्ने शाही कटकको वरिपरि केन्द्रित रहनेछ ।
मगरात
तत्कालीन ‘बाह्रथरे’ मगरहरूको इलाकाका रूपमा परिचित बाह्र मगरातभित्र अर्घा, खाँची, गुल्मी, इस्मा, मुसीकोट, घिरिङ, बल्ढेङगढी, रुद्रपुरगढी, देउचुली, तनहाङ/तनु–ह्युला’ (तनहुँ), पर्वत, गलकोट, रिसिङ, घिरिङ, भीरकोट, सतहुँ, गरहुँ, पैयुँ, ढोर, कास्की, ल्यहे–मुऊ–ह्युला (लमजुङ), काहुँ, लिगलिग, गोर्खाकोट, बुङकोट, बाह्राकोट (बाहकोट), तार्घाकोट (ताकुकोट), मकवानपुर लगायतका रैथाने सामन्ती इलाका आबद्ध थियो । कतै कविला राज्यको रूपमा त कतै रजौटा र स्थानीय सामन्तका रूपमा । आफ्नै सिक्का नभएको, स्थायी सेना पनि नभएको ।
मग्वर मगरातको प्राचीन नाम हो । मगरहरूको मूलथलो या मगरात मर्स्याङ्दी नदीदेखि प्यूठानसम्मको प्रदेशलाई भनिन्थ्यो (पन्त/शर्मा–द टु अर्लिएस्ट कपरप्लेट इन्स्क्रिप्सन्स फ्रम नेपाल, मिसेनेन्स पेपर, पृ. ६) । निसी–भुजीलाई सीमा मानेर त्यस पश्चिमको भेग अठार मगरात र पूर्वको भेग बाह्र दर्लाम अर्थत् बाह्र मगरातका रूपमा परिचित थियो । अठार मगरात (राप्ती) मा पाङ (खाम) र बाह्र मगरात (गण्डकी) मा ढुट मगर भाषा बोल्ने गरिन्छ (बुढामगर, भोजविक्रम–मगर जातिको राजनीतिक इतिहास, पृ. ६९/७३) ।
त्यही बाह्र मगरातका विभिन्न राज्यहरू सुरुमा रिडी–भीरकोटबाट अस्तित्वमा देखिने आरम्भिक समयमा मगर नै रहेका भनिएका र पछि खान/साही/शाहको पदवी धारण गरी ठकुरी कहलिन गएकाहरूले एकपछि अर्को गर्दै निल्न पुगे । भीरकोट, सतहुँ, गरहुँ, बल्ढेङ, किहुँ, रामकोटजस्ता अनेकन मगर प्रशासित इलाका बिनाकुनै लडाइँ खानहरूको हातमा गएको देखिन्छ । तर, जहाँ गुरुङहरूको इलाका थियो, त्यहाँ भने खानहरूले चर्को भिडन्त बेहोर्नुपरेको थियो ।
त्यसरी बाह्र मगरातका मगर राज्यहरूमा शाही कटकको सिलसिला गोर्खा माझकोटमा आइपुग्दा भने भीषण भिडन्तमा परिणत हुन्छ । पन्ध्र दिन लामो निरन्तरको प्रतिवादपछि बाह्र मगरातको अन्तिम मगर राज्य गोर्खा माझकोट द्रव्य शाहको हातमा जान्छ । मानसिंह खड्गामगरबाट द्रव्य शाहको अधीनमा गोर्खाकोट हस्तगत हुने विसं १६१६ भदौ २५ को त्यही घटना कालान्तरमा आजको नेपाल राज्य निमार्णको आरम्भ विन्दुको रूपमा संघटित हुन्छ । यो आलेख चार सय साठी वर्षअघि बाह्र मगरातको अन्तिम मगर राज्यमा शाही धुन्य फहराउन आइपुग्ने शाही कटकको वरिपरि केन्द्रित रहनेछ ।
लसर्घादेखि गोर्खाकोटसम्म
पश्चिमको खस राज्यमा स–साना राजा–रजौटाको स्वतन्त्र अस्तित्व देखिन थालेको बेला खस राज्यकै सामन्त इलाकाका सामन्त गज ब्रम्हका छोरा धर्म पालले विसं १४८० तिर रिब्दीकोट नामक स्वतन्त्र राज्यको स्थापना गरेका थिए । यसपछि कालीगण्डकी आसपासका पहाडी भेगमा अर्घा, खाँची, धुरकोट, मुसिकोट, इस्मा, पर्वत पनि स्वतन्त्र रियासतका रूपमा स्थापित हुन पुगे ।
रिब्दीकोटको सेन राज्यको मुकाम रुद्र सेनले पाल्पा सारेका थिए (खनाल, मोहनप्रसाद–सेनराज्यको राजनीतिक इतिहास, पृ. १९) । रिब्दीकोट नजिक बल्ढेङगढीमा मगरहरूको बलियो राज्य अस्तित्वमै थियो । गण्डकी प्रदेशमा सेन राज्य स्थापना भएको समयकै हाराहारीमा त्यही प्रान्तको केही उत्तरी भेकमा ‘खान’ राज्यको स्थापना भएको थियो । खानहरूले पूर्वतिर बढ्दै गएर गोर्खासम्म पुग्दा आठ राज्य स्थापना गरेका थिए । यी राज्यलाई आठ टीका पनि भनिन्थ्यो ।
विसं १५०० को आसपासमा लसर्घामा जैन (जैत) ‘खाँन/खाँण’ बाट आजका शाहहरूको स्थानीय जरो उठेको विभिन्न समयमा लेखाइएका वंशावलीहरूमा उल्लेख भएको पाइन्छ । केही वर्षपछि आँधीखोलाको दायाँ किनाराको खिलुङमा जमिन आवाद गराई भीरकोट ठकुराईको जग बसाएको देखिन्छ (आचार्य बाबुराम–श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी (१), पृ. ६) ।
गोरखा राजवंशावलीअनुसार जैन खानका छोरा सूर्यखानले लसर्घाबाट बढेर खिलुङमा राज्य जमाए । उनका जेठा छोरा कर्हान्चा (खाञ्चा) ले खिलुङ छाडेर भीरकोटमा र कान्छा छोरा मिर्हन्चा (मिचा) ले नुवाकोटमा रजाइँ कायम गरे । रैथाने मगर बोलीमा कर्हान्चा भनेको जेठा र मिर्हन्चा भनेको कान्छा हो । शाहवंशीहरू चित्तौरबाट आएका राजपूतहरू नै थिए भने उनीहरूले आफ्ना छोराहरूलाई रैथाने मगरबोलीमा जेठा र कान्छा राख्ने बाध्यतै के थियो र ?
कर्हान्चाका सन्तानले भीरकोटबाट बढेर गरहुँ र ढोरमा रजाइँ कायम गरे । मिर्हन्चा आफ्ना छोरा लिएर लगभग विसं १५१० तिर बाह्रदर्लामको नवकोट पुगे । बहदर्लाम भनेको मगरको बस्ती हो । उनका जेठा छोरा भक्ति खान आफ्नो मूलराज्यमा रहिरहे पनि कान्छा विचित्र खान भने आँधीखोला आसपास रहेका मगर आवादीहरूबाट मात्र सन्तुष्ट नभई त्यहाँबाट उत्तरतर्फ आवाद भएर रहेका बस्तीहरू नियन्त्रणमा लिई स्वतन्त्र राज्यको गठन गर्न पुगे । यही राज्य नै पछि आएर कास्की राज्यको नामले प्रसिद्ध हुन पुग्यो (आचार्य, बाबुराम–नेपालको संक्षिप्त वृत्तान्त (२), पृ. ८९) ।
विचित्र खानपछि जगती खानले घलेमा रहेको घलेहरूको राज्य (क्होल, सिक्लिस, अर्मलाकोट) स्थानीय शासक राकसे गुरुङको नायकत्वबाट खोसेर खानहरूको कास्की राज्यमा सामेल गराएका थिए (मेचीदेखि महाकाली, भाग ३, पृ. ४४५) । कास्की राज्यको विस्तार गरी कुलको इज्जत बढाउन सकेकाले उनले ‘कुलमण्डन’ नाम धारण गरेका थिए, जगतीको ठाउँमा । कुलमण्डलले पौराणिककालीन कुण्डिन देशका मण्डन राजा नलसँग तुलना गरी कुण्डिन मण्डन भन्दाभन्दै उनको कुलमण्डन हुन गएको देखिन्छ (शर्मा, गोपीनाथ–चौबीसी राज्यको इतिहास, पृ. ३२) ।
उनका सात भाइ छोरा थिए । जेठा नरराज खान कास्कीको राजा रहे । पहिले कालु साही र पछि जसबम (यशोब्रह्म) साही लमजुङ लगेर राजा थापिए । तिनै नरराज खानले ‘साही’ उपाधि प्रयोग गरेपछि त्यसैको सिकोमा यशोब्रह्मले पनि साही उपाधि धारण गरे । यशोब्रह्मका जेठा छोरा नरहरि साही लमजुङकै राजा रहे भने उनका कान्छा द्रव्य साहीलाई उनले मर्स्याङ्दी तथा चेपे नदीभन्दा दक्षिणपूर्वमा रहेको मगरातको रागिनासकोटको प्रशासक बनाएर पठाएका थिए (आचार्य, उही (२), पृ. ९०) ।
तिनै द्रव्य शाहले विसं १५१५ मा रैथाने मगर प्रशासित लिगलिगकोट कब्जा गरे भने विसं १६१६ भदौ २५ मा हाल गोरखा दरबार रहेको तत्कालीन माझकोटका मानसिङ खड्गालाई पराजित गरी बाह्र मगरातको अन्तिम मगर राज्य हडपेर साही धुन्य फहराए । योसँगै बाह्र मगरातमा रहेको मगर राज्यमाथिको साही कटकले विश्राम लियो र उप्रान्त यो तमु, तामाङ, नेवार, किराँत र अन्य रैथाने राज्य निलेर एकात्मक साही राज्यको आकार बढाउन अघि बढ्यो ।
फलाम काट्न फलाम
गोर्खा भेकमा पछिल्लो समय खस राज्य र पाल्पासहितका राज्यहरूको विस्तार र विघटनको क्रममा अघि बढ्दै, बसाइ सर्दै हिँडेका पश्चिमी पहाडी भेगका ब्राह्मण, क्षत्री, दलितहरूको आवादी सघन हुन गएको थियो । निश्चित संस्कार, संस्कृतिबाट संस्कारित ब्राह्मण, क्षत्रीहरूले रैथाने संस्कृति, परिशीलनमा अभ्यस्त गोर्खा भेकमा आफूलाई असहज र असुरक्षित महसुस गरिरहेको थियो ।
आगन्तकु बाहुन, क्षत्रीको बढ्दो आकांक्षा, बल र संख्यालाई रैथाने मगरहरूले थेग्न नसक्ने अवस्था आएपछि ती दुई समुदायबीच अन्तरविरोध तीव्र हुन गएको थियो । पश्चिमबाट अनेकन आकांक्षा र बढ्दो आवश्यकता थेग्न पूर्व हान्निएको नवआगन्तुक खसहरूको हूलको महत्त्वाकांक्षा र आवश्यकताको सम्बोधन परम्परागत सामाजिक रीति थामेर बसेको प्रशासक, सामन्तहरूसँग थिएन ।
बग्ने पानीजस्तै चहार्दै, डुल्दै, लड्दैभिड्दै हिँडेका खस, पर्वत, इस्मा, पाल्पालगायतबाट गोर्खामा केन्द्रीकृत हुन गएका क्षत्रिय र तिनका बिचारी ब्राह्मणको बुद्धि, बल, तिक्डमलाई सामना गर्न सक्ने अवस्थामा एकै ठाउँ जमेर बसेको रैथाने मगर समुदाय थिएन नै ।
उसै पनि सामन्ती प्रथा धानेर बसेका मगर प्रशासकसँग असन्तुष्ट रैथाने मगर गंगारामलगायतलाई भड्काएर फलाम काट्न फलाममै धार साँध्ने कुटिल चलाखी मगरविरोधीहरूले अपनाएका थिए ।
भुसुन्डीखोला पानीढलो, चेपे पानीढलो र दरौंदी पानीढलोबीचमा आवादी चलाएर बसेका घले/खड्गा मगरहरू र राना, वुषाल, मास्की, पुलामीमगरहरूबीच जारी तीव्र अन्तरविरोधले असन्तुष्ट मगरसँग असुरक्षित र असन्तुष्टिको भुंग्रोमा परेको क्षत्री, ब्राह्मणहरूको हातेमालो भएपछि त्यसको मार खेप्न रैथाने घले/खड्गामगरको तागत पर्याप्त भएन ।
पाल्पाबाट तत्कालीन छोप्राक बेलबासमा बसेका गणेश पाँडे, इस्माबाट आएका नारायणदास अर्याल, अर्घाबाट आएका सर्वेश्वर खनाल र भगीरथ पन्थ, सल्यानबाट आएका केशव बोहराबीच मोर्चावन्दी भएपछि यो बाहिरिया समूहले रैथाने मगरहरूलाई आफ्नो शासक मान्न अस्वीकार गर्यो । अनेक कारणले मगर शासकसँग असन्तुष्ट गंगाराम पनि त्यही समूहमा मिसिएपछि रागिनासको प्रशासन चलाई बसेका भीरकोटे खान/साही खलकका द्रव्यलाई अघि सारेर आफ्नो तुष्टि पूरा गर्ने दाउमा यो समूह लाग्यो ।
मगरले नमानेको दसैं
विसं १६१५ को दसैंमा दौडमा सामेल भई आफ्नो राजा छान्न सामेल घलेमगरहरूलाई गिंडेर द्रव्य शाहले लिगलिगकोट कब्जा गरेको मूलधारको इतिहासकारहरूले उल्लेख गरेको पाइन्छ । तर द्रव्य शाहले लिगलिगमा विजयादशमीको दिनमा राजाको दौडमा सामेल घलेहरू मारेर लिगलिग दख्खल गरेको कुराचाहिँ किन पनि मिल्दैन भने घलेहरू तिब्बतीकरण भएको बौद्ध धर्म मतावलम्बी थिए ।
त्यसैले तिनलाई हिन्दूहरूको विजयादशमी कुनै चाड, उत्सवको दिन थिएन नै (आचार्य, उही (१), पृ. ४३) । रैथाने अनुश्रुतिअनुसार पाल्पाली सेन राज्य विभाजित भएपछि विसं १६०५ पछिका दिनहरूमा रैथाने दलसुर घलेमगर प्रशासक छँदा अनेक विवाद उब्जिएपछि उनले हरेक चैत्र पूर्णिमाको दिन दौडमार्फत आफ्नो शासक छान्ने रीति छानेकामा एक जना घले लगातार बाह्र वर्षदेखि दौडमा प्रथम भई शासक बन्दै आएका थिए ।
उसै पनि त्यसबखत, बल हुनेहरू नै आफ्नो इलाकाको रक्षार्थ सामर्थ्यवान मानिने समय थियो र घलेहरूको अभ्यास त्यही ‘तिघ्रे’ तागतको मापन गर्ने एउटा हिस्सा थियो । द्रव्य शाहीले लिगलिग महविलथोक तल तिघ्रे गणतन्त्रको अभ्यास गर्दै दौडमा भाग लिइरहेका पाँच घलेहरू काटेर लिगलिगमा ‘पाखुरे’ एकात्मक साहीतन्त्रको धुन्य फहराएका थिए ।
समावेशी फौज
त्यसरी लिगलिग हान्न आउँदा द्रव्य शाहले साथमा केही लमजुङे गुरुङहरू पनि ल्याएका थिए, जसलाई उनले पछि उमरा पद दिएर राखेका थिए । राम साहीको पालासम्म वार्पाक, स्यार्तान, अठार सयखोला, सल्यान, वस्याहारी, खरी, मैधी, धादिङ आदि राज्यहरू गोर्खामा गाभिएपछि गोर्खामा मगर, गुरुङ, घले, तामाङहरूको संख्या बढ्न गयो ।
लिगलिगकोट, माझकोट, उपल्लोकोट, तल्लोकोट, सिह्रानचोक, अजिरगढमा खान/साही दखलपछि गोर्खालीसँग पहिल्यैदेखि मगर, बराम, क्षत्री, ब्राह्मण, माझी, कुमाल, ‘दलित’, गुरुङहरूको शक्ति एकीकृत भएकै थियो । उसो त, द्रव्य शाहलाई रागिनासबाट बोकेर गोर्खा ल्याउने काम बरामहरूले गरेका थिए (बराम र छन्त्याल–बराम जातिको चिनारी, पृ. २८) । गोरखाका कुमालहरूले गोर्खा राज्य विस्तारको क्रममा दौडाहाको रूपमा परिचालित भई सन्देश सम्प्रेषकको भूमिका निर्वाह गरेका थिए (मुखिया, बाघवीर–कुमाल जातिको अध्ययन, पृ २९) ।
यसरी गोर्खाले आफ्नो आकार बढाउँदै जाँदा देशको सबैभन्दा लडाकु शक्ति एउटै सैन्य क्याम्पमा एकीकृत भयो । त्यसले निश्चित एकल जातीय बनोटमा रहेका राज्यका सैन्यहरूलाई कहीँ पनि टिकेर अडिन दिएन । काठमाडौं उपत्यकाका राजाहरूले भाडामा ल्याएका नगरकोटी र गुहारमा बेलाइएका शक्तिशाली बाह्य अंग्रेज फौजले समेत उपत्यकाको राज्य गोर्खाली तारोमा परेपछि एक दशकभन्दा बढी समय थेग्न सकेन ।
कोट र थुमैपिच्छेका भुरे टाकुरे राज्य र सामन्तहरू रिझाउँदा रिझाउँदै जनतालाई त्यो झ्याउलो अत्यासलाग्दो काउसो बन्न गएको थियो । त्यसमाथि त्यस्ता सामन्तहरूको तीव्रत्तर परिवर्तनले जनतामा स्थिर र बलियो राज्यको आवश्यकता खड्किन गएको थियो । बढ्दो बसाइसराइ र पश्चिमबाट पूर्व बत्तिएको नवआगन्तुक चेतनासँगको संसर्गले समाजको परम्परागत शासकीय चेतनासँग तीव्र अन्तरविरोध बढ्न गएको थियो ।
समाज सामूहिक जातीय संरचनामा बदलिएको थियो भने रैथाने सत्तासीन फौज एकलजातीय स्वरूपमा घिडघिडाएर रहेको थियो । परिणामस्वरूप, सामूहिक बुद्धि र तागत मिसाएर खनिएपछि त्यस्ता एकल जातीय फौजहरू समावेशी गोर्खाली फौजको सामु कहीं पनि टिक्न सकेन । बरु, कीर्तिपुरकै फौजमा काठमाडौं, पाटन, भक्तपुरको बहुल चरित्रको फौजी तागत जुटुन्जेल त्यसले गोर्खाली हमलाको सानदार प्रतिवाद जमाइराखेको थियो ।
तर जब, गोर्खालीहरूको फुटाउने र त्यही मौकामा मार हान्ने रणनीति अघि बढ्यो, उपत्यकाको एकलजातीय फौजले गोर्खालीहरूको बहुजातीय फौजसँग टाउको उठाउने मौकासमेत पाएन । बरु, तुलनात्मक तवरले समावेशी रहेको लमजुङे फौजले भने गोर्खालीहरूलाई जित्दै पूर्वोत्तर भेग पुगिसक्दा पनि छेवैमा सधैंभर हैरान खेलाइरह्यो ।
एकीकृत गोर्खाली फौजले अंग्रेज र मुसलमानी फौजको हुंकारलाई समेत सिन्धुली र मकवानपुरमा निचोरेपछि आक्रामक रूपमा विस्तारमा अघि बढ्यो । गोर्खा राज्यले जे–जति भुरे–टाकुरे राज्य आफूमा समाहित गर्यो, कालान्तरमा गोर्खा विस्तार अभियानको परिणामले एउटा भीमकाय देशको स्वरूप हासिल गर्यो र नेपालको रूपमा अस्तित्वको झन्डा फहरायो । विसं १८७२ को अंग्रेजसँग विभिन्न मोर्चाहरूमा नेपालले बेहोरेको महाभिडन्तपछि खुम्चिएको राज्य विस्तारको नेपाली मनोबल आजको भूगोलको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान जोगाउने अविराम प्रयत्नहरूमा विघटित भएर बसेको छ ।
.....
त्यसरी एकल चरित्रको फौजी र राजकीय स्वरूपको कमजोरीमाथि सामूहिक र समावेशी तागत संकेन्द्रित गरेर आफूलाई श्रेष्ठ सावित गरेको समाजको नेतृत्व गरेको गोर्खाली शाहवंशलाई महेन्द्रको पालामा आएर एकल भाषा, एकल भेष, एकल चिन्तनमा लागेर एकात्मकतामा केन्द्रित हुँदा त्यसले समाजमा बढिरहेको बहुल विचार, बहुल चेतना र सामाजिक विविधताका बहुल रङको बढ्दो यथार्थसँग सामना गर्न नसक्ने अवस्थामा पुर्यायो ।
सामाजिक बहुलता र निरंकुश एकात्मकताबीचको निर्णायक संघर्षमा पाँच सय वर्षअघि आफैंले अरूलाई घुँडा टेकाएको यथार्थ भुल्दा महेन्द्र निर्मित एकल चेतनाको सत्ता भाष्य र त्यसको आडमा बहुलता र विविधताको घाँटी अठ्याउन अग्रसर राजतन्त्र समाजमा विकसित नयाँ आवश्यकता, सामाजिक सम्बन्धहरूको निर्णायक संघर्षमा टिक्न सकेन र सधैंका लागि बिदा भयो । जसरी, हिजोका एकलजातीय सत्ताहरू बहुलजातीय सामाजिक यथार्थहरूका कारण ढलेको थियो, उसैगरि सामाजिक बहुल चिन्तनको यथार्थले राजतन्त्रात्मक एकल चिन्तनलाई बिदाइ गरिदियो ।
गोर्खाकोटमा शाहीे कटक
लिगलिग दखल गरेको वर्षदिन नपुग्दै आफ्ना सेनामेना लिएर द्रव्य माझकोट (हाल गोर्खा दरबार रहेको स्थान) हान्न पुगेका थिए । पन्ध्र दिन लामो फौजी भिडन्तपछि सोह्रौं दिनमा खड्गा राजा मारिएपछि द्रव्य साहीलाई नारायणदास अर्यालले विसं १६१६ भदौ २५ मा गोर्खाको ‘राजा’ का रूपमा अभिषेक दिएका थिए । त्यसरी द्रव्य साहीले जोडेको त्यही गोर्खा माझकोटको राज्य उनकै समयमा सिह्रानचोक, अजिरकोटमा विजयको शंखनाद गर्न पुगिसकेको थियो ।
नरभूपाल साहको पालासम्म अनेकन पटक जित्दै, गुमाउँदै फेरि जित्दै गोर्खा बारपाक, सल्यान, खरी, मैधी, धादिङ, सिम्जुङ, मझुवा, स्यार्तान, अठार सयखोला, बसेरी, चरङ्गे, निभारचोक, फिर्केप, कटुञ्जे कब्जा गरी त्रिशूली नदीमा सीमामा गोरखाको साँध लगाउन पुगेको थियो । नरभूपालकै पालामा त्रिशूलीमा खुँडा पखालेर नुवाकोटमाथि जाईकटक गरे पनि कठमाडौंको झिटीकटकमा पराजित भएपछि पृथ्वीनारायणको शासनारम्भ हुनुअघि गोर्खा १२ हजार घरधुरी भएको राज्यका रूपमा उपस्थित थियो ।
मुसलमान कि मगर ?
नेपालका विभिन्न भेग हुँदै कालान्तरमा केन्द्रीय नेपालमा शासक बन्न पुगेका शाहहरूको पुर्खा को थिए भन्ने विवादित बहसहरू सर्वथा नौलो होइन । कतिले उनीहरूलाई खान उपाधि जोडेको र शाहका पुर्खाहरूमा खांचा र मिंचाजस्ता नामहरू देखिएको कारण उनीहरू मुसलमान थिए भन्ने अड्कल काटेको देखिन्छ ।
तर, यो तर्क खास वलशाली देखिँदैन । बरु शाहहरूको पुर्ख्यौली मगर थियो भन्ने तथ्यहरूको फेहरिस्त भने प्रशस्तै भेटिन्छन् । गण्डकी क्षेत्रका मगरहरूले निकै उन्नति गरेर बाह्र खान (राजाहरू) को संघ खडा गरी ‘बाह्र मगरात’ नामको राज्य खडा गरेका थिए । यी सबै स्थानमा आ–आफ्ना खान (राजा) थिए । तर पनि भीरकोटका खान (राजा) लाई बडाखानको मनितो थियो (शर्मा, उही, पृ. ४) ।
लसर्घाको आलमदेवी जैनखानको दुर्ग हो । दुर्गमा दुर्गा भवानीको विजयध्वजा फहराउने गरिन्छ । विजयध्वजलाई स्थानीय भाषामा ‘आलम’ भन्ने गरिन्छ । त्यसैकारण दुर्गा भवानीलाई आलमदेवी भन्ने गरिन्छ । आलमदेवी आठटीकाका खान एवं साही/शाह वंशका कुलदेवी हुन् । आलमदेवीको पूजा विवाह नभएका मास्की रानामगरबाट हुने गर्छ (गुरुङ, जगमान– गण्डकीप्रस्रवणक्षेत्रको सांस्कृतिक सम्पदा, पृ. १०२) । काठमाडौंमा गद्दीनसीन छउन्जेल राजदरबारबाट वर्षैपिच्छे एक असर्फी आलमदेवीलाई जाने गर्थ्यो (शर्मा, उही, पृ. ९) ।
पाल्पाली सेनवंशी अभय राणक (मगर) ले सेनले मकवानपुरे गजसिंह नामका मगर राजाको छोरी कान्तिमतीसँग बिहे गरेको सेनहरूको वंशावलीमा उल्लेख भएको पाइन्छ (घिमिरे, विष्णुप्रसाद–पाल्पा राज्यको इतिहास, भाग २, पृ. १५) । अभय र कान्तिमतिका तेह्रौं पुस्ताका थिए मुकुन्द सेन । मुकुन्द सेनले पनि पारकोटका मगर राजा (?) की छोरी महादेवी सुवर्णमालासँग बिहे गरेका थिए ।
तिनैबाट जन्मेका माणिक्य सेन पाल्पाली गद्दीमा बसेका थिए (गुरुङ, जगमान, तमुवानको ऐतिहासिक वृत्तान्त, पृ. १९) ।
सिक्किमबाट लेखिएका पुस्तकमा पनि सेनवंशी राजाहरूलाई मगर राजा भनेर सम्बोधन गरेको देखिन्छ (प्रधान, कुमार–एक प्रहर, पृ. ६) । केशर पुस्तकालयमा रहेको हस्तलिखित ग्रन्थ ‘नारदस्मृति’ मा सेनवंशी राजा मुकुन्द सेनलाई मगर राजा उल्लेख भएको पाइन्छ । काठमाडौंका मल्ल राजाहरूले सत्रौं शताब्दीको पहिलो दशकमा गरेको मैत्री सहमतिमा पाल्पाली मगरहरूको आक्रमणबाट बच्न एक हुनुपर्ने उल्लेख भएको पाइन्छ ।
पृथ्वीनारायणको मावली पाल्पाली सेन राज्य थियो । उनकी माता कौशल्यावती पाल्पाली राजा गन्धर्व सेनकी छोरी थिइन् । विभिन्न वंशावली, टिपोट, बिहेवारीले मगर देखाएका पाल्पाली सेनहरूसँग गोर्खाली/भीरकोटे खान/शाहहरूको बिहेवारी चल्नु रोचक मात्रै छैन, त्यसको गहनताले शाहवंशको खास जरो खोज्न सघाउँछ । पृथ्वीनारायण आफैंले ‘मगरातको राजा मै हुँ’ भन्ने उद्घोष गरेको पाइन्छ (योगी र आचार्य, दिव्य उपदेश, पृ. २८) ।
खान/शाह ठकुरीहरूका निकटतम सहयोगीको कोटीमा आउने मगरहरूलाई ठकुरीका मावली खलक पनि भनिएको लोकाख्यानहरू प्रचलित छन् (सुवेदी, राजाराम–कास्की राज्यको इतिहास, पृ. ८७) । भीरकोटे ‘खान’ बाट विस्तरित हुँदै साही/शाह भएकाहरूको कुलपूजा हुने आलमदेवीमा मास्की रानामगर पुजारी रहनु उत्तिकै रोचक विरोधाभास देखिन्छ । कुनै पनि वंशको कुलपूजा हुने मन्दिरमा आफ्नै वंशको मात्रै पुजारी रहने हरेक परिवार, गोत्र, वंशहरूको सर्वमान्य प्रचलन हेर्ने हो भने खान/शाहहरूको कुलपूजाको मन्दिरमा मात्रै किन मगर पुजारी रहे भन्ने सवालहरूले शाहहरूको वंशीय नश्लको यथार्थ पर्गेल्न मद्दत गर्छ ।
शाह/खान/सेनहरूमा प्रचलित एकथरी अनुश्रुति अनुसार भूपालजी रावले वाँगे (च्वाँचे) पूजा गरी च्वाँचे (सुँगुर) को मासु खाएको हुनाले अरू भाइले ‘तिमीले अभक्ष्य खायौ, अब तिमी मास्सियौ’ भनेपछि उनी अरू भाइसँग छुट्टिएको र रैथाने मगरकी छोरी बिहे गरेर पूजा चलाएर बसेका थिए । दसैंको बेलामा आलमदेवीमा अहिले पनि सुँगुर बलि दिने गरिन्छ । नेपालका शाह राजाहरूले पनि राणाकालको मध्यान्तरसम्म आलमदेवीमा मगरहरूले जसरी नै सुँगुर र रक्सी चढाउने गर्थे । पछिबाट मात्रै सुँगुरको ठाउँमा शाह राजाहरूले बँदेल बलि दिन थालेको देखिन्छ ।
लसर्घा आलमदेवीमा मात्रै होइन मगरहरूलाई शाहवंशीय राजतन्त्रले सबैतिर आफ्नै साथमा राखेको र आफ्ना कुलदेवी र इष्टदेवीहरूको मन्दिरको पुजारी बनाएको देखिन्छ । खान/शाहहरूको प्रारम्भिक थलो मानिएको भीरकोटमा सारुमगर, गह्रौंकोटमा बरालमगर, खिलुङमा सारु, नुवाकोटमा सारु, सतहुँकोटमा पुलामी, सराङकोटमा चुमी थापा, ढोरमा दर्लामी, लमजुङमा दूधराना, गोर्खा कालिकामा भुसाल/मास्की, सल्यानकोट धादिङमा सारु/रानामगरहरू पुजारी रहेको देखिन्छ । यसले शाहहरूको वंशीय नशो मगरहरूतिरै केन्द्रित गर्न बल पुर्याउँछ ।
खान/साही/साह/शाह
राम शाहले चित्रविलासलाई लेख्न लगाएको ‘राजवंशावली’ ले शाहहरूको पुर्ख्यौली चित्तौरगढमा जोड्न पुगेको देखिन्छ । तर गोर्खाको राजवंश चन्द्रवंशी र चित्तौरको रावलवंश सूर्यवंशी भएकाले साहीहरूलाई चित्तौरमा जोड्ने राम शाहको प्रयास उदांगिएपछि त्यसलाई टाल्न धरणीधर (टिप्पणीकार ?) लाई ‘गोरक्ष वंशावली’ लेख्न लगाई सच्याउन खोजेको देखिन्छ ।
यसपटक भने साहीवंशलाई सूर्यवंशी राजा अयतिवुमदेखि उठाएर सूर्यवंशी देखाउन खोजिएको छ । राजेन्द्रविक्रमको पालामा लेखाइएको ‘गोरक्षधीस–चम्पु’ मा गोर्खाली शाह वंशलाई चित्तौरका राणावंश सावित गर्ने प्रयास गराइएको छ । राजेन्द्रकै पालामा शेरमान सिंह र उनका भाइ बुद्धिमान सिंहले लेखेको ‘जीवनचरित्र’ र ‘गोर्खा वंशावली’ ले पनि शाह वंशावलीलाई चित्तौरका ऋषिराज भट्टारक राणाजी रावमा जोड्न पुगेको छ (योगी, नरहरिनाथ–इतिहास प्रकाशमा सन्धिपत्र संग्रह, भाग १ का विभिन्न पृष्ठहरू) ।
.....
राजा/सरदार/बडाप्रतिष्ठित व्यक्तिको अर्थमा व्यवहार हुने तुर्की भाषाको ‘खान’ उपाधि भिरेको देखिन्छ जैनले । जुम्लाका कल्याल राजाहरूले सुरुमा राई र पछि साहीका रूपमा धारण गरेको राजपदवी कास्कीका जगति या नरराज खानले अनुकरण गरेको देखिन्छ । राम शाहको पालामा लेखाइएका पुस्तकमा साही र साह दुवै प्रयोग भएको देखिन्छ । त्यस समयमा दिल्लीमा जहाँगीर शाह सत्तासीन रहेकाले त्यसैको सिकोमा जुम्ली ‘साही’ को ठाउँमा दिल्ली ‘साह’ लेखाउन रहर गरेको बुझ्न सकिन्छ । तर साहीको प्रयोग भने पृथ्वीनारायणको समयसम्म सर्दै आइरहेकै देखिन्छ ।
विसं १८११ मा पृथ्वीनारायणले ढलाएको मोहरमा उनले साही उपाधि नै राखेका छन् । उनकै समयकालमा अविवाहितापट्टिका सन्तानलाई ‘साही’ र विवाहितापट्टिका सन्तानलाई ‘साह’ उपाधि व्यवहार गर्ने प्रवृत्ति देखिन्छ ।
शूर र वीरलाई जनाउन तुर्की भाषामा प्रयोग गरिने ‘बहादुर’ उपाधि पाल्पाली मुकुन्द सेन (द्वितीय) ले प्रयोग गरेकाले त्यसैको सिकोमा हुन सक्छ तरबार र लडाइँको अर्थमा प्रयोग हुने फारसीको ‘शम्शीर’ र ‘जगं’ शब्दका साथमा ‘बहादुर’ जोडेर ‘शमशेर जंगबहादुर’ को उपाधि धारण गरेका थिए पृथ्वीनारयणले –आचार्य, उही(१), पृ. ३९–४१) । त्रिभुवनको पालामा फारसीको शुद्ध रूप ‘शाह’ बिग्रेर ‘साह’ बन्न गएको व्याख्या गराई त्यसपछिका व्यवहारमा ‘शाह’ उपाधि लेखाउन थालेको पाइन्छ ।
यादव देवकोटा, भाद्र २८ २०७६ कान्तिपुर कोसेली
No comments:
Post a Comment